Loading... आजः २०८१ बैशाख १४, शुक्रबार

चुनावपछि प्रधानमन्त्री को बन्ने भन्नेबारे टुंगो लागिसकेको छैन स् दाहाल

सल्यान – नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको प्रधानमन्त्री को बन्ने भन्नेबारे टुंगो लागिनसकेको बताएका छन् । गोरखाबाट सुर्खेत जाने क्रममा मौसमको खराबीका कारण मंगलबार बिहान सल्यानमा आकस्मिक अवतरण गरेका दाहालले प्रेस सेन्टर सल्यानले गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनकै सरकार बन्ने तर प्रधानमन्त्री को बन्ने भन्नेमा टुंगो नलागेको बताए ।

त्यस्तै उनले आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ भएको बताएका छन् । केपी ओलीले जनताको त्याग‚ तपस्या र बलिदानबाट प्राप्त संविधान ध्वस्त बनाउन थालेकाले त्यसको रक्षा गर्न गठबन्धन गर्नुपरेको जानकारी दिए ।

राजा फर्काउन भैरहेको चलखेललाई रोक्न गठबन्धनको आवश्यकता भएको बताउँदै उनले भने‚ ‘हामी बहुमत ल्याएर सरकार बनाउछौं भन्ने केपी ओलीले हल्ला फैलाएर भ्रम सिर्जना गरेका छन् । यसअघि जनताले बहुमत दिँदा सरकार चलाउन छाडेर संसद् विघटन, संविधान मिच्नेजस्ता काम गरेका उनले कुनै हालतमा बहुमत ल्याउँदैनन् ।’ यसपालि गठबन्धनको जीत सुनिश्चित छ भएको भन्दै गठबन्धनले बहुमतको सरकार बनाउनेमा आफू ढुक्क रहेको उनले बताए ।

नेपाली राजनीतिको मुख्य शक्ति माओवादी भएकाले यसअघि वामगठबन्धन बनाउन होस् या अहिले वामलोकतान्त्रिक गठबन्धन बनाउन, माओवादी नै सूत्रधार भएको उनले बताए ।उनी सल्यानमा छोटो समयका लागि मात्र बसेका थिए ।

थाहा खबर