Loading... आजः २०८१ बैशाख १५, शनिबार

बक्यौता रकम नदिए पछि वीरेन्द्रनगरका सडक बत्तीको लाईन काटियो

सुर्खेत-वीरेन्द्रनगर नगरपालिका–४ का वडाध्यक्ष शेरबहादुर केसीका अनुसार प्राधिकरणले सडकबत्ती हटाएपछि सहरको सुरक्षामा चुनौती थपिएको छ । चाररपाँच जना कर्मचारी खटाएर प्राधिकरणले सडकबत्ती निकालेको थियो । सडकबत्ती राख्न वडाले बजेट विनियोजन गरेको थियो ।

विद्युत् प्राधिकरणले बक्यौता तिर्न पटक पटक ताकिता गर्दा पनि नगरपालिकाले कुनै वास्ता नगरेपछि बाध्य भएर सडकबत्तीको लाइन काट्नु परेको जनाएको छ । सुर्खेत प्राधिकरण प्रमुख अशोक लोहनीले २०७३ सालयताको सडकबत्तीको बक्यौता तिर्न बारम्बार आग्रह गर्दा पनि नतिरेपछि लाइन काट्नु परेको बताए उनका अनुसार सडक बत्ती बालेबापत नगरपालिकाले पाँच करोड ३० लाख रुपियाँ बक्यौता तिर्न बाँकी छ । दुई दुई पटक पत्राचार गर्दा पनि केही सुनुवाइ नभएपछि मङ्गलबारबाट सडकबत्तीको लाइन काट्न सुरु गरिएको हो । नगरपालिकाले बक्यौता रकम नतिरेसम्म नगरका सबै सडकबत्तीको लाइन काटिने उनको भनाइ छ ।

सडकबत्ती मात्रै नभएर बक्यौता रकम नबुझाउने १७ सय ग्राहकको पनि लाइन काटिएको छ । ती ग्राहकसँग पाँच करोडभन्दा बढी रकम बक्यौता छ ।

वीरेन्द्रनगर नगरपालिका भने बक्यौता रकम दिने दायित्व नगरपालिकाको नभएको भन्दै पन्छिएको छ । नगरपालिकाले सडक विद्युत्को बक्यौताका बारेमा नगर सभाबाट निर्णय गरेर अघि बढ्ने जनाएको छ । नगर उपप्रमुख नीलकण्ठ खनालले प्राधिकरणको बक्यौता नगर सभाबाट निर्णय गरिने बताए । विद्युत् प्राधिकरणले नगरमा गाडेको विद्युत् पोलको भाडा नगरपालिकालाई दिनुपर्ने उपप्रमुख खनालको बताए ।