Loading... आजः २०८२ पुष ३, बिहीबार

चुनढुङ्गा बोक्ने टिप्परले सडक भत्काए पछि सल्यानका नागरिक आन्दोलित

कृष्ण शर्मा सुर्खेत । सल्यानको कपुरकोट–रोल्पा कोइला सडकखण्डमा चुनढुङ्गा बोक्ने टिप्परले वर्षौँदेखि सडक भत्काएर स्थानीयको दैनन्दिनी प्रभावित भएपछि स्थानीयवासी फेरि आन्दोलित बनेका छन्।

अत्यधिक धुलो, खाल्डाखुल्डी, विद्यालय जाने बालबालिकाको जोखिम र स्वास्थ्यमा परिरहेको असरका कारण बुधबार बसेको स्थानीय भेलाले टिप्पर पूर्णरुपमा रोक्ने निर्णय गरेको हो।

कपुरकोट–कोइला सडकखण्डबाट सिमेन्ट उद्योगसम्बन्धी भारी टिप्परहरू दैनिक रूपमा गुड्दै आएका कारण सडक जीर्ण बन्दै गएको स्थानीयको गुनासो छ। धुलोका कारण घरबस्ती ढाकिने, साना तथा मझौला सवारी चलाउन समस्या पर्ने, बालबालिका तथा पैदल यात्रुलाई सास्ती हुने अवस्था धेरै वर्षदेखि दोहोरिएको बताइन्छ।

कपुरकोट–५ स्थित मिलन बजार व्यवस्थापन समिति र मिलनबजार युवा क्लबको संयुक्त नेतृत्वमा १२७ जनाभन्दा बढी स्थानीयको उपस्थितिमा भएको भेलाले बिहीबार बिहानदेखि टिप्पर सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको समितिका अध्यक्ष अमरबहादुर बिकले बताए। सडक कालोपत्रे नहुञ्जेलसम्म भारी टिप्परलाई चल्न नदिने निर्णय सम्बन्धित निकायलाई आधिकारिक रूपमा पठाइएको छ।

बैठकको माइनुट जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कपुरकोट गाउँपालिका, वडा कार्यालयहरू तथा रोल्पा सिमेन्ट उद्योग प्रालिलाई जानकारीका लागि पठाइएको युवा क्लबका अध्यक्ष झलक वलीले जानकारी दिए। उनले प्रभावित बस्ती, विद्यालय र यात्रुहरूमा परेको असरको स्थलगत अनुगमन गरी निर्णय कार्यान्वयनमा सहयोग गर्न पनि आग्रह गरिएको बताए।