Loading... आजः २०८२ माघ २७, सोमबार

भेरीको पानी वीरेन्द्रनगर ल्याउने सपना साकार हुँदै

भौतिक प्रगति १३ प्रतिशत पुग्यो

कृष्ण शर्मा ,पुष २२ सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको वर्षौँदेखिको खानेपानी संकट टार्ने लक्ष्यका साथ सुरु गरिएको भेरी पम्पिङ्ग आयोजनाुको भौतिक प्रगति १३ प्रतिशत पुगेको छ। गत भदौदेखि निर्माण सुरु भएको यस आयोजनाले छोटो समयमै उत्साहजनक उपलब्धि हासिल गर्दै उपत्यकाबासीको खानेपानीको सपनालाई नजिक पुर्‍याएको हो।

यस आयोजनाका विशेषताहरू निकै महत्वपूर्ण र दुरगामी रहेका छन्। यो संघीयता कार्यान्वयनपछि नेपालमै पहिलो पटक तीन तहका सरकार ९संघ, प्रदेश र स्थानीय० को संयुक्त लागत साझेदारीमा निर्माण हुन लागेको ठूलो आयोजना हो, जसमा संघीय सरकारको ८० प्रतिशत, प्रदेशको १३ प्रतिशत र वीरेन्द्रनगर नगरपालिकाको ७ प्रतिशत लगानी रहेको छ।

आयोजनाको पहिलो प्याकेज अन्तर्गत चिनियाँ कम्पनीले ३ अर्ब ५० करोड ८ लाख रुपैयाँमा मुख्य संरचनाहरूको निर्माण गरिरहेको छ। यस अन्तर्गत अमृत डाँडामा ९० लाख लिटर क्षमताका तीनवटा विशाल ट्याङ्की निर्माण गरिँदैछ भने भेरी नदीबाट ७ किलोमिटर लामो मुख्य पाइपलाइनमार्फत पानी पम्प गरिनेछ।

हालसम्म १२ किलोमिटर पाइपलाइन विस्तार भइसकेको छ भने वन क्षेत्रको रुख कटानको कार्य अन्तिम चरणमा पुगेकाले मुहानमा इन्टेक बनाउने बाटो खुलेको छ।

आयोजनाको दोस्रो प्याकेज अन्तर्गत करिब ८०० किलोमिटर लामो वितरण सञ्जाल निर्माण गर्ने योजना छ, जसका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान भइसकेको छ। यस प्याकेजले वीरेन्द्रनगरका घर(घरमा पानी पुर्‍याउने र हाल सञ्चालनमा रहेका झुप्रा तथा इत्राम जस्ता पुराना खानेपानी प्रणालीलाई समेत स्तरोन्नति गर्ने लक्ष्य राखेको छ।

सन् २०५० सम्म बढ्न सक्ने जनसंख्यालाई पर्याप्त हुने गरी डिजाइन गरिएको यो आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सोमबार मुख्यमन्त्री यामलाल कँडेल र नगर प्रमुख मोहनमाया ढकालले आयोजनाको संयुक्त अनुगमन गर्दै कामको गतिलाई निरन्तरता दिन र गुणस्तरमा ध्यान दिन निर्देशन दिनुभएको छ।