Loading... आजः २०८३ जेष्ठ २२, शुक्रबार

संविधानले दिएको अधिकारको संरक्षण र नीति निर्माण आवश्यकताः भट्टराई

दैलेख –  गैरसरकारी संस्था महासंघ, नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले स्थानीय तहको नीति निर्माण र कानुन तर्जुमा प्रक्रियामा नागरिक समाजको सहभागिता र पैरवीलाई थप सशक्त बनाउनुपर्ने बताए। शुक्रबार गैरसरकारी संस्था महासंघ, दैलेखद्वारा आयोजित जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणसम्बन्धी स्थानीय नीति, योजना तथा कानुन निर्माण विषयक अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि भट्टराईले संविधान निर्माणमा नागरिक समाजको भूमिका ऐतिहासिक रहेको बताए। उनले अहिलेको संघीय संरचनामा स्थानीय सरकारसँग सहकार्य गर्दै नीति निर्माणमा प्रभावकारी पैरवी गर्नु आजको मुख्य आवश्यकता रहेको र संविधानले नागरिक संस्थालाई दिएको अधिकारको संरक्षण एवं संस्थागत विकासमा महासंघ सधैँ प्रतिबद्ध रहेको कुरा बताए।

कार्यक्रममा महासंघका महासचिव देवी खड्काले कर्णालीको समग्र विकासमा सामाजिक संस्थाहरूको योगदान अतुलनीय रहेको बताइन। उनले सामाजिक संस्थाहरूको कामलाई सरकार र राजनीतिक दलहरूले हेर्ने दृष्टिकोणमा सुधारको खाँचो रहेको बताइन। साथै, पछाडि परेका वर्गको उत्थान र सचेतनाका लागि संस्थागत भूमिका अझ बलियो हुनुपर्ने कुरामा उनले जोड दिइन।

कार्यक्रमका अध्यक्ष एवं गैरसरकारी संस्था महासंघ, दैलेखकी अध्यक्ष दिलकुमारी चन्दले स्थानीय तहमा विपद् व्यवस्थापन र जलवायुमैत्री नीति निर्माणका लागि महासंघले सहजीकरण गरिरहेको जानकारी दिइन। उनले राहत वितरणमा एकरूपता कायम गर्न, न्यायिक समितिमा मनोपरामर्शदाताको व्यवस्था गर्न र नागरिक संस्थाका सुझावहरूलाई स्थानीय कानुनमा समावेश गर्न स्थानीय सरकारसँग आग्रह गरिन।

कार्यक्रममा कोषाध्यक्ष गोविन्द बहादुर शाही, सचिव जजराज शाही , गैसस महांसघका केन्द्रिय सदस्य तथा सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा, गैसस कर्णाली प्रदेशको अध्यक्ष घनश्याम के।सी। केन्द्रिय सदस्य तथा इन्चार्ज विष्णु रावल, एभरेष्ट क्लवका सचिव कृष्ण के।सी, नागरीक समाजका प्रतिनिधि,पत्रकार लगायत जिल्लाका सामाजिक अभियान्ता तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अभिमुखीकरणमा जलवायु परिवर्तनका असर, विपद् जोखिम न्यूनीकरणका उपाय र स्थानीय सुशासनमा नागरिक संस्थाहरूको भूमिकाका विषयमा विस्तृत छलफल भएको थियो। साथै कार्यक्रम लगतै केन्द्रिय अध्यक्ष लगायतको टिमले सोसेक नेपालको कार्यालयमा भिजिट पनि गरेका थिए ।