Loading... आजः २०८० चैत्र १६, शुक्रबार

धरहरा चढ्दा आइफेल टावर चढेजस्तै अनुभव भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहरा चढ्दा फ्रान्सको आइफेल टावर चढेजस्तै अनुभव भएको बताएका छन् ।

शनिबार पुनर्निर्मित धरहरा उद्घाटन समारोहलाई सम्बोधन प्रधानमन्त्री ओलीले सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफेल टावर चढेजस्तै अनुभव भएको र २० औं तलामा त्यहाँकै जस्तो हावा आएको अनुभव भएको बताए ।

इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनर्निर्माण हुनु देशकै लागि गौरवको विषय भएको उनले बताए । ‘इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनर्निर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो, आइफल टावरमा जस्तै हावा धरहराको २०औं तलामा आएको छ,’ उनले भने, ‘यो काठमाडौं र नेपालको परिचयका रुपमा विश्वमा चिनिने छ, मैले २०७२ फागुन ४ गते म बनाउँछु, मेरो धरहरा अभियान चलाएको थिएँ, त्यसअनुरुप यो निर्माण हुन नसके पनि बन्दा सबैलाई खुसी लागेको छ ।’

म बनाउँछु, मेरो धरहरा अभियानअन्तर्गत २४ करोड रुपैयाँ जम्मा भएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए । धरहरा ढल्दा हामीलाई आफैं ढलेजस्तो र ठडिंदा हामी बौरिएर उठेजस्तो अनुभव भएको धेरैले सुनाउने गरेको उनले बताए ।

२०७२ साल वैशाख १२ गते धरहरा ढलेर निधन भएका ६० जनाको परिवारका एक÷एक जना सदस्यलाई धरहरा परिसरमा निर्मित संरचनाका लागि आवश्यक जनशक्तिका रुपमा रोजगारी दिने घोषणा पनि प्रधानमन्त्री ओलीले गरेका छन् । धरहरा क्षेत्रमा मिल्ने रोजगारी नभएमा अन्यत्र पनि मृतकका परिवारलाई प्राथमिकताका साथ रोजगारी दिने उनले प्रतिबद्धता जनाए ।

२०७५ पुस १२ गते शिलान्यास भएको धरहरालगायत संरचना जीआईटीसी/रमण जेभी कन्स्ट्रक्सनले निर्माणको काम गरिरहेको छ ।(अनलाइन खबरबाबट)