Loading... आजः २०८० चैत्र १६, शुक्रबार

राउटे समुदाय १० वर्षपछि सल्यानमा स्थानान्तरण

दैलेख  :  जंगलमा घुमन्ते जीवन बिताउने राउटे समुदाय झन्डै १० वर्षपछि सल्यान आएका छन्। विगतमा सल्यानका विभिन्न स्थानमा बस्दै आएका राउटे १० वर्षपछि पुनः सल्यान फर्किएका हुन्।

सुर्खेतको गुर्भाकोट नगरपालिका ११ भेरी नदी किनारमा बस्दै आएका राउटे समुदाय मंगलबार कालीमाटी गाउँपालिका-५ काल्चेडाँडामा बस्ती स्थानान्तरण गरेका हुन्। नेपालमा अन्तिम घुमन्ते जातिमध्येको एक राउटे पश्चिम नेपालका विभिन्न जंगलमाहरुमा बसोबास गर्दै आइरहेका छन्।

लोपोन्मुख अवस्थामा रहेको राउटे समुदाय करिब अहिले १ सय ५० जना मात्र रहेका छन्।  कृषि उद्यम नगर्ने घुमन्ते राउटेहरु अन्य गाउँबस्तीका मानिसहरुसँग बस्तु विनिमय गरेर आफ्नो लागि अन्नको जोहो गर्ने गर्दछन्।

जंगलमा बसोबास गर्ने राउटेहरु पछिल्लो समय भने गाउँबस्तीनजिक बस्न थालेका छन्। जसले गर्दा अन्य समुदायबाट दुर्व्यवहारको शिकार बन्दै गएका छन्।

राउटेहरु विशेषगरी आफैँले बनाएका काठका भाँडाकुडा प्रयोग गर्ने गर्दछन्। उनीहरुको बिहेवारीलगायत सबै सामाजिक व्यवहार आफ्नै समुदायभित्र नै हुने गर्दछ।