Loading... आजः २०८१ बैशाख २३, आईतवार

कोरोना खोपको माग गर्दै जाजरकोटका शिक्षकहरु आन्दोलित

कोरोनाको जोखिममा रहेकाले खोप लगाउनुपर्ने माग

 

दैलेख :  कोरोना खोपको माग गर्दै जाजरकोटका शिक्षकहरु आन्दोलित छन् । शिक्षकहरुले शुक्रबार शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटमा धर्ना दिएका छन् । शिक्षक, कर्मचारी र विद्यार्थीका लागि तत्काल खोप उपलब्ध गराउनु पर्ने, संघिय सरकारको बजेट अनुसारका बालविकास शिक्षक, विद्यालय कर्मचारी र सहायक कर्मचारीको पारिश्रमिक व्यवस्था गरिनु पर्ने, पालिका तहका शैक्षिक योजना निर्माणमा शिक्षकका पेशागत संघ संगठनको अनिवार्य प्रतिनिधित्व गराइनुपर्ने लगायतका माग राखेर धर्ना दिएका हुन् ।

शिक्षक, विद्यालय कर्मचारीहरु र बालविकासका शिक्षकहरुले नेपाल शिक्षक महासंघको आन्दोलनको कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएको नेपाल शिक्षक महासंघ जाजरकोटका सह अध्यक्ष तिलकबहादुर खत्रीले बताए ।

धर्ना कार्यक्रममा बोल्ने वक्ताहरुले राज्यले शिक्षकहरुलाई फरक ढंगको व्यवहार गरेको बताएका छन् । उनीहरुले शिक्षकका मागको पुरा नभए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । नियमित विद्यालय जाँदा आफूहरु पनि कोरोनाको जोखिममा रहेकाले खोप लगाउनुपर्ने माग गर्दै उनीहरुले धर्ना दिएका छन् । पेशागत संगठनका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।