Loading... आजः २०८१ बैशाख २३, आईतवार

पूर्व प्रधानमन्त्री खनालको उपचार खर्च व्यहोर्ने निर्णयप्रति युवा नेता गगनको असन्तुष्टि

सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न नमिल्ने भनाइ

 

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले पूर्व-प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

उनले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू अब भन्नुस् पूर्व-प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो?’

प्रधानमन्त्रीको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम नरोकिएको उनको आरोप छ।

‘उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो। यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्‍यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ’ उनले लेखेका छन्, ‘तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन।’

कानुनले स्पष्ट भन्दासमेत सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न नमिल्ने उनको भनाइ थियो।

‘कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन भन्ने संशोधन प्रस्ताव राखेँ’ उनले लेखेका छन्, ‘यो संशोधन संसदले स्विकार्दै बनेको कानुन २०७५ असोज २ गतेदेखि लागू भयो।’