Loading... आजः २०८२ माघ ७, मंगलवार

विशेष महाधिवेशन रोक्न कांग्रेसको अपिल

काठमाडौं । नेपाली कांग्रेसले पुस २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशन तत्काल रोक्न अपिल गरेको छ।

सानेपास्थित केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नियमित वा विशेष महाधिवेशनको मिति तय गर्ने अधिकार केन्द्रीय समितिलाई मात्र हुने स्पष्ट पार्दै उक्त कार्यक्रम रोक्न आग्रह गरेको हो।

बैठकपछि केन्द्रीय सदस्य नारायणप्रकाश साउदले केन्द्रदेखि वडा तहसम्मका पदाधिकारी, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिलाई तोकिएको विशेष महाधिवेशनमा सहभागी नहुन अनुरोध गरिएको जानकारी दिए।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी एकतालाई प्राथमिकता दिँदै नियमित महाधिवेशन सफल बनाउन सबै एकजुट हुनुपर्ने निष्कर्ष बैठकले निकालेको बताए। विधानविपरीत व्यक्तिगत रूपमा बोलाइने कुनै पनि अधिवेशन अवैध हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरिएको छ।

बैठकले विशेष महाधिवेशनले पार्टी विभाजन र आगामी प्रतिनिधि सभा निर्वाचनमा क्षति पुर्‍याउन सक्ने भन्दै एकताबद्ध भएर आमनिर्वाचनको तयारीमा जुट्न आह्वान गरेको छ।

यता, महामन्त्री गगनकुमार थापाले पार्टी रूपान्तरणका लागि नीति र नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्। उनले केन्द्रीय समितिबाटै विशेष महाधिवेशन आह्वान हुने अपेक्षा रहेको उल्लेख गरे।