Loading... आजः २०८१ बैशाख ४, मंगलवार

नेता नेपाललाई पार्टीबाट अलग्गिन प्रधानमन्त्री देउवाको सल्लाह

देउवालाई विश्वासको मत दिने बाचा

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई सरकारमा आउन आग्रह गरेका छन्। नेपाल निवास कोटेश्वरमा आज दुई नेताबीच भएको भेटवार्ता भएको थियो।

उक्त भेटमा नेता नेपालले देउवा सरकारलाई विश्वासको मत दिने पनि बताएका एमाले माधव समूहका एक नेताले थाहाखबरलाई बताए।

उनका अनुसार  प्रधानमन्त्री देउवाले नेपालसमक्ष सरकारमा आउन आग्रह गरेका र नेपालले पनि देउवालाई सघाउने बाचा गरेका थिए। साथै प्रधानमन्त्री देउवाले पनि नेता नेपाललाई आवश्यक अर्को पार्टी खोल्न र एमालेबाट विभाजन हुन सल्लाह दिएका थिए।

प्रधानमन्त्री देउवा आज दिउँसो नेपालनिवास कोटेश्वर पुगेका थिए। एमाले विवाद चरम उत्कर्षमा पुगेका बेला दुई नेता बीचको भेटघाटपछि दुवैपक्षको प्रस्तावलाई अर्थपूर्ण रुपमा लिइएको छ।

नेपाललाई कुनै हालतमा पार्टीमा स्थान नदिने भनी एमाले अध्यक्ष ओलीले आजै उद्घोष गरेका थिए। यसैप्रति लक्षित हुँदै देउवाले नेपाललाई पार्टी विभाजन गरे अघि बढ्न सुझाएका हुन सक्ने आकलन गर्न सकिन्छ।

संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री भएपछि देउवाले १ महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ। यस्तो अवस्थामा उनको दल र अन्य साना दलबाट यो सम्भव छैन। यस अर्थमा देवाले माधव नेपालको साथ खोजेका हुन्।

माधव नेपालले समर्थन नगरे देउवाले विश्वासको मत पाउने अवस्था हुँदैन। त्यसपछि देउवा सरकारले ६ महिनाभित्र मध्यावधि निर्वाचन गर्नुपर्ने बाध्यता आइपर्छ। जस कारण आज नेता नेपालनिवासमा सहयोग माग्न देउवा पुगेका हुन्।

जसपाका एक खेमा अध्यक्ष उपेन्द्र यादव पनि देउवाकै पक्षमा छन्। तर उनको पक्षमा १२ सांसद् मात्रै छन्। जसले गर्दा देउवालाई सरकार जोगाउन माधव नेपाल पक्ष अपरिहार्य चाहिन्छ।