Loading... आजः २०८१ बैशाख ६, बिहीबार

नेकपा एमाले द्धारा बलात्कार आरोपी कर्णाली प्रदेशका मन्त्री शाहीलाई तत्काल बर्खास्त गर्न माग

 

सुर्खेत – नेकपा एमालेले बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।
एमालेले घटना विवरणसहित बहालवाला मन्त्रीका बारेमा सार्वजनिक भइसक्दा पनि सरकार र सत्ता पक्ष चुप लागेर बस्नु गम्भीर भएको बताएको हो ।

‘कर्णालीमा माओवादी केन्द्र र कांग्रेसको संयुक्त सरकार छ, कर्णालीका माओवादीहरु र कांग्रेसहरुलाई के विषयले छुन्छ बुझ्न सकिएन्,’ एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले भने, ‘सार्वजनिक रुपमा गम्भीर आरोप लागिसक्दा तत्काल वर्खास्त गर्नुपर्नेमा न सरकार बोल्छ, न पार्टी बोल्छ, न पार्टीमा लागेका बोल्छन्। ’

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका कँडेलले मन्त्रीको सचिवालयका कर्मचारीलेनै घटना स्वीकार गरिसकेको र लेनदेनको विषय नमिल्दा घटना बाहिर आएको स्वीकार गरिसक्दा पनि आरोपीतलाई मन्त्री बनाइराख्नु समग्र कर्णालीकै बेइज्जत भएको बताए। ‘अरुले बोले विरोधीले बोलेको अर्थ लगाइन्छ, यो घटनामा त मन्त्रीको सचिवालयका कर्मचारीलेनै घटना भएको र लेनदेन नमिलेर बाहिर आएको स्वीकार गरिसक्दा पनि मन्त्रीबाट नहटाइनु समग्र कर्णालीकै अपमान हो ।’

कँडेलले पीडित पक्ष कुटिनु र समाचार लेख्ने पत्रकारहरुको भागाभाग हुने अवस्थाको सृजना भइसक्दा पनि सरकार र प्रशासनले गम्भीर चासो नलिएको बताए ।

एमाले नेता कँडेलले घटनाका बारेमा प्रहरी–प्रशासन सम्पूर्ण जानकार रहेको बताउँदै बजारमा आएका घटना विवरणलाई नपत्याउने हो भने जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई बुझ्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सुझाव दिएका छन् ।