Loading... आजः २०८२ माघ १५, बुधबार

कोभिडको नक्कली खोप र परीक्षण किट बरामद

वाराणसी : भारतको उत्तर प्रदेश प्रहरीले कोभिडको नक्कली खोपदेखि परीक्षण गर्ने किटसम्म बरामद गरेको छ।

विशेष ट्र्याकिङ फोर्सले वाराणसीको रोहित नगरबाट ४ करोड भारतीय रूपैयाँ बराबरका ती नक्कली खोप र किट बरामद गरेको हो।

प्रहरीले बुधबार छापा मारेर ठूलो परिमाणमा नक्कली खोप र परीक्षण किट बरामद गरेको जानकारी दिएको छ।

सोही क्रममा प्रहरीले उक्त घटनामा संलग्न राकेश थवानीलगायत ५ जनालाई पक्राउ गरेको छ।

प्रहरीले नक्कली परीक्षण किट, कोभिसिल्ड र जाइकोभ-डीका नक्कली खोपका भाइल, प्याकिङ मेसिन, खाली सिसी र प्याक गरिएका स्वाब स्टिकसमेत बरामद गरेको बताएको छ।

सोधपुछका क्रममा पक्राउ परेका राकेशले नक्कली खोप र परीक्षण किट निर्माणमा संलग्न रहेको स्वीकारेको प्रहरी प्रवक्ताले बताए।

प्रहरीको सोधपुछका उनीहरूले करिब ६ महिनादेखि वाराणसीमा बसेर कोरोनाको नक्कली खोप र परीक्षण किट बनाइरहेको खुलासा गरेका छन्।

शहरको पोश कोलोनीमा बस्दै आएका उनीहरूले कोरोनाको नक्कली खोप र परीक्षण किट बनाएर अरु प्रदेशमा पठाउने गर्दै आएका थिए।

स्पेशल टास्क फोर्स र इन्टेलिजेन्स ब्यूरोको संयुक्त कारबाहीमा यो गिरोह पर्दाफास भएको हो।

उनीहरूले कार्यालय बनाएको घरबाट लेबल लगाइएका ७ सय २० भाइल र लेबल नलगाइएका १ हजार भाइल बरामद भएको छ। खोपको यति मात्राले करिब १७ हजार मानिसलाई खोप लगाउन सकिन्छ।

छापा मार्दा एन्टिजेन परीक्षण किटका ४ सय ३२ बाकस पनि फेला परेको छ। प्रत्येक बाकसमा २५ किट छन्। यी किटबाट लगभग ११ हजार मानिसको परीक्षण गर्न सकिन्छ।

प्रहरीले रेमडेसिभिर खोपको त भण्डार नै बरामद गरेको छ।

योसँगै क्याडिलाको लेबल टाँसिएका ८ सय २२ भाइल पनि प्रहरीले फेला पारेको छ। भारतमा अहिले क्याडिलाको खोपलाई अनुमति दिइएको छैन‚ परीक्षण मात्र भइरहेको छ र अपराधीहरूले यसको पनि नक्कली खोप बनाउन थालेका छन्।

अनुसन्धान टोलीले घटनास्थलबाट खोप प्याकिङ मेसिन, ठूलो परिमाणमा खाली भाइल, बिर्का र उपकरणसमेत बरामद गरेको छ।

उनीहरूले नक्कली खोप बनाउन ग्लुकोज पाउडर र मिनरल वाटर प्रयोग गरेको बताएका छन्।

उनीहरूले भ्याक्सिन र इन्जेक्सनमा औषधिको सट्टा पानी र ग्लुकोज हालेर बेच्ने गरेको र ती सबै भ्याक्सिन र इन्जेक्सन पनि दिल्ली र केरलालगायत राज्यका अनेकौं शहरमा पुर्‍याउने गरेको बताएका छन्।

गिरोहमा संलग्न अन्यको प्रहरीले खोजी गरिरहेको छ। प्रहरी अधिकारीका अनुसार अभियुक्तहरूको मोबाइलको कल डिटेल्स खोजी भइरहेको छ।

फ्याक्ट्रीबाट पक्राउ परेका राकेश थवानीले प्रहरीको सोधपुछमा सन्दीप शर्मा, अरुणेश विश्वकर्मा, लक्ष्य जाभा र शमशेरसँग मिलेर नक्कली भ्याक्सिन र परीक्षण किट बनाउने गरेको बयान दिएका छन्।

उनीहरूले यी सबै नक्कली भ्याक्सिन र किट लक्ष्य जाभालाई दिने र लक्ष्य जाभाले आफ्नो नेटवर्कमार्फत विभिन्न राज्यमा आपूर्ति गर्ने गरेको थवानीले प्रहरीलाई बताए।

-एजेन्सीको सहयोगमा