Loading... आजः २०८२ माघ २१, मंगलवार

टी-२० विश्वकप छनोट : नेपाल विश्वकपमा पुग्न असफल, युएईसँग ६८ रनले पराजित

ओमानमा भइरहेको टी-२० विश्वकप छनोटको आज भएको सेमिफाइनलमा नेपाल ६८ रनले युएईसँग पराजित हुँदै छनोट प्रतियोगिताको अन्त्य गरेको छ। आजको पराजयसँगै नेपाल यसै वर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा पुग्न पनि असफल भएको छ।

दोस्रो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेल्न सकेन। नेपाली टोलीले १८ दशमलव ४ ओभरमा नै अल आउट हुँदै जम्मा १ सय ७ रनमात्र बनाउन सक्यो। पराजयसँगै नेपालको विश्वकप खेल्ने सपना पनि भताभुंग भएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएर नेपालसामु जितका लागि १ सय ७६ रनको लक्ष्य दिएको थियो।

जवाफमा ब्याटिङ गर्न उत्रिएको नेपालको शुरुवात सुखद रहेन। नेपालले पहिलो ओभरमा नै लगातार दुई विकेट गुमाउन पुगेको थियो। पहिलो ओभरको चौथो बलमा नै ओपनर आसिफ शेखको विकेट गुमाउन पुगेको थियो। २ बलको सामना गरेका शेख रनको खातासमेत खोल्न नपाउँदै जुनैद सिद्दिकीको एलबिडब्ल्यू धरापमा परेका थिए। यति वेला नेपालको स्कोर ३ रनमात्र थियो।

यसपछि आएका लोकेश बम पनि कुनै रन जोड्न नसकी नेपालको स्कोर ३ रन हुँदा नै पहिलो ओभरको पाँचौँ बलमा क्याच आउट भए। नेपालको दोस्रो विकेट लिएका जुनैदले बमलाई मोहम्मद वसिमको हातबाट क्याच आउट गराए।

तेस्रो ओभरको पाँचौँ बलमा अर्का ओपनर कुशल भुर्तेललाई पनि जुनैदले नै आउट पारेपछि नेपालको स्कोर ३ विकेटको क्षतिमा १४ रन भयो। जुनैदले कुशललाई व्रित्या अरविन्दको हातबाट क्याच आउट गराए। कुशलले ८ बल खेलेर १ चौका हान्दै ७ रन बनाए।

यसपछि कुल स्कोर ५० रन हुँदा नेपालको चौथो विकेट आरिफ शेखका रुपमा आठौँ ओभरमा खस्यो। उनले रोहन मुस्तफाको बलमा अरविन्दलाई क्याच थमाउनुअघि १२ बल खेलेर ११ रनमात्र जोडेका थिए।

१३औँ ओभरमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि १६ बलमा २० रन बनाएर आउट भए। नेपालको पाँचौँ विकेट कुल ८३ रनमा खसेको थियो। यसपछि ३८ बलमा ३८ रन बनाएर खेलिरहेका दिपेन्द्रसिंह ऐरी पनि यही ओभरको पाँचौँ बलमा एलबिडब्ल्यू भएपछि ८३ रनमै नेपालको छैटौँ विकेट खसेको थियो।

कप्तान सन्दीप लामिछानेले ६ बलमा ४ रन बनाए र नेपालको स्कोर ९६ रन हुँदा सातौँ विकेटका रुपमा १६औँ ओभरमा आउट भए। आठौँ विकेटका रुपमा कुल स्कोर ९६ रन हुँदा नै आउट भएका विवेक यादवले १३ बलमा ८ रनमात्र जोडे।

१८औँ ओभरको अन्तिम बलमा नेपालले नवौँ विकेट कुल १ सय ६ रनमा गुमाएको थियो। कमलसिंह ऐरीले आउट हुनुअघि ५ बलमा ४ रन बनाए। यसलगत्तै १९औँ ओभरमा कुल स्कोर १ सय ७ रन हुँदा जितेन्द्र मुखिया आउट भएपछि नेपालको जितको सपना चकनाचुर भएको थियो। मुखियाले १० बल खेलेर ५ रन बनाए भने अविनाश बोहोरा १ रनमा अविजित रहे।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो।

युएईका लागि मोहम्मद वसिमले ७०, ब्रित्या अरविन्दले ४६ र मोहम्मद उस्मानले १७ रन बनाए। नेपालका लागि जितेन्द्र मुखिया र अभिनाश बोहराले ३/३ तथा सन्दिप लामिछानेले १ विकेट लिए।

त्यस्तै अर्को सेमिफाइनलमा  आयरल्याण्डले ओमानलाई पराजित गरी फाइनलमा पुग्नुका साथै विश्वकपमा छानिन सफल भएको छ।