पुटिनलाई रूस बाहिर सेना प्रयोग गर्न संसद्को अनुमति

रूसी सांसदहरूले मंगलबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई देशबाहिर सैन्य बल प्रयोग गर्न अनुमति दिएका छन्। यसका लागि पुटिनका सबै खाले कदमलाई स्वीकृति दिएका छन्।
यो कदमले युक्रेनमा व्यापक रूसी आक्रमणको डर बढाएको छ। उता अमेरिकाले युक्रेनमा आक्रमण भइसकेको बताएको छ।
रूसी संसद्को माथिल्लो सदन ‘फेडरेशन काउन्सिल’ले पुटिनलाई रूस बाहिर सेना प्रयोग गर्ने अनुमति दिन सर्वसम्मतिले मतदान गरेको छ। यसले पूर्वी युक्रेनका विद्रोही क्षेत्रहरू (दोनेत्स्क र लुहान्स्क) मा रूसी सैन्य तैनाथीलाई औपचारिक रूप प्रदान गरेको छ।
यी क्षेत्रमा आठ वर्ष पुरानो द्वन्द्वमा झण्डै १४ हजार मानिसको मृत्यु भइसकेको छ।
यसअघि पश्चिमा देशका नेताहरूले रूसी सेना युक्रेनको पूर्वी भागमा पुगेको दाबी गरेका थिए। पूर्वी युक्रेनमा रूसी सेना तैनाथ गरेको भन्दै अमेरिकाले रूसको यो कदमलाई ‘आक्रमण’ भनेको छ।
युक्रेन संकटको शुरुवातमा अमेरिका यो शब्द प्रयोग गर्न अनिच्छुक थियो। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी कदमको परिणाम स्वरूप अमेरिकाले रूसमाथि कडा प्रतिबन्ध लगाउने बताएका छन्।
पश्चिमा देशका कैयौँ नेताहरूले रूसी राष्ट्रपति पुटिनले पूर्वी युक्रेनमा विद्रोही नियन्त्रित क्षेत्रलाई स्वतन्त्र मान्यता दिएपछि रूसी सैनिकहरू ती क्षेत्रमा प्रवेश गरेको बताए। केही नेताहरूले रूसी कदम युक्रेनमा पूर्ण आक्रमणको बराबर नभएको संकेत गरे।
यसैगरी ह्वाइट हाउसका प्रमुख उप राष्ट्रिय सुरक्षा सल्लाहकार जोन फिनरले भने, ‘हामी रूसले युक्रेनमा नयाँ आक्रमणको सुरुवात गरेको विश्वास गर्छौं।’
रूसमाथि प्रतिबन्ध लगाउन ईयू सहमत
युरोपेली संघ (ईयू) का २७ सदस्य राष्ट्रहरुले रूसी अधिकारीले युक्रेनमा गरेको कामका लागि उनीहरूमाथि प्रारम्भिक प्रतिबन्ध लगाउन सहमत भएको फ्रान्सेली विदेशमन्त्रीले जानकारी दिए।
युरोपेली संघका विदेश मामिला प्रमुख जोसेप बोरेलले मंगलबार प्रतिबन्धहरू स्वीकृत भएको बताए। उनले भने‚ ‘यसले रूसलाई धेरै क्षति पुर्याउनेछ।’
बोरेलले यो प्रतिबन्धले पूर्वी युक्रेनमा विद्रोही नियन्त्रित क्षेत्रमा रूसी सेना तैनाथ गर्ने स्वीकृति दिने रूसी संसद्का सदस्यहरू र यसमा संलग्न अन्य व्यक्तिहरूलाई असर गर्ने बताए।
उनले यी प्रतिबन्धहरूले युरोपेली वित्तीय बजारहरूमा रूसको पहुँचलाई सीमित हुने र यसले युक्रेनसँग सम्बन्धित वित्तीय नीतिहरूमा पनि प्रभाव पार्ने दाबी गरे।
युक्रेनमा रूसको कारबाहीबारे बोरेलले भने, ‘कथा अझै सकिएको छैन‚ बाँकी छ।’









परिवर्तन संवाददाता
१२ फाल्गुन २०७८, बिहीबार ०८:१४