कर्णाली प्रदेशमा मतदाता नामावलीमा दाबी विरोध गर्न आयोगको आग्रह
सुर्खेत –निर्वाचन आयोग, कर्णाली प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर सुर्खेतले मतदाता नामावलीमा दाबी विरोध गर्न वा नाम सच्याउन आग्रह गरेको छ । यही फागुन १९ गते मतदाता नामावली प्रकाशन हुने सूचना गर्दै सो कार्यालयले प्रकाशित मतदाता नामावलीमा रहेको
त्रुटि सच्याउन सम्बन्धित वडा कार्यालय र प्रमुख दर्ता अधिकारीको कार्यालयमा निवेदन दिन आग्रह गरेको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले मतदाताको नाम दोहोरिएको, फरक पर्न गएको, एकभन्दा बढी स्थानमा नाम आएको, मृत्यु भएकालगायत विभिन्न समस्या यही फागुन २६ गतेभित्र सुधार गरिसक्नुपर्ने बताए ।
“प्रकाशित मतदाता नामावलीमा कसैको मृत्यु भएमा वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सम्बन्धित परिवारले मृतकका हकमा मृत्यु दर्तासहित सम्बन्धित वडामार्फत प्रमुख नाम दर्ता अधिकारीलाई निवेदन दिनुपर्ने छ”, उनले भने, “मौखिक रुपमा कसैले मृत्यु भयो भने वा नागरिकता त्यागेको भन्ने कुरालाई आधार मानिने छैन ।”
उनले प्रकाशित मतदाता नामावलीमा वैशाख २९ गतेसम्म १८ वर्ष पुग्ने जो कोहीले मतदानमा भाग लिन पाउने जनाए । कसैले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरुद्धमा उजुरी दिन, दाबी विरोध गर्न, बसाइँसराइलगायत विभिन्न कारणले नाम फरक परेका मतदातालाई नाम सच्याउन सुझाएका थिए । साभार राताेपाटि









परिवर्तन संवाददाता
१६ फाल्गुन २०७८, सोमबार १३:०३