Loading... आजः २०८२ माघ १७, शुक्रबार

एमसिसीमा जालझेल गरेकाे भन्दै गठबन्धनबाट बाहिरियो जनमोर्चा

बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै केपी ओलीले लादेको प्रतिगमनका विरुद्ध मात्रै पाँच दलीय गठबन्धनको निर्माण र त्यसको निरन्तरतामा जोड दिँदै आएको उल्लेख गरेका छन्।

‘एमसीसी सम्झौताले देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउनुका साथै सम्झौताका आडमा अमेरिकी सेनासमेत नेपाल आउन सक्ने र त्यसबाट हाम्रो असंलग्न परराष्ट्रनीति पनि धरासायी हुने भएकोले विद्यमान अवस्थामा एमसीसी विरुद्धको संघर्ष प्रधान बनेर अगाडि आएको छ’ जारी विज्ञप्तिमा भनिएको छ,

‘पाँच दलीय गठबन्धनभित्रको हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसदद्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरुको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ। गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षती पुगेकाले त्यसबाट हाम्रो पार्टी आज कै मितिदेखि अलग भएको घोषणा समेत गर्दछौँ।’

एमसिसी पारित गराउनका लागि सरकारले अपनाएको मतदान प्रक्रियाको समेत विरोध गरेको छ। तानाशाही तथा निरंकुश प्रवृत्तिको घोर विरोध तथा भण्डाफोर गर्ने उल्लेख गरेको छ।

माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक प्रस्तावमा कथित सहमति जनाउने कुरा आफ्ना कार्यकर्ताहरूको एमसीसी विरुद्धको आक्रोशलाई मत्थर पार्न गरिएको नौटङ्की मात्र भएको आरोप लगाएका छ।

एमसिसी विरुद्धको संघर्षलाई अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९–२२ गतेसम्म देशव्यापी जिल्ला तथा स्थानीयस्तरका विरोधसभा गर्ने निर्णयसमेत गरेको छ।