Loading... आजः २०८२ माघ २१, मंगलवार

सल्यान अस्पतालको दूरावस्था, चिकित्सक नहुँदा सेवाग्राहीलाई सास्ती

सल्यान – जिल्ला अस्पताल सल्यानमा चिकित्सक नहुँदा दैनिक १०० भन्दा बढी बिरामी उपचार नपाई फर्किने गरेका छन्। आकस्मिक कक्ष तथा वार्डमा बिरामीहरू भर्ना नगरिएको स्वास्थ्य कार्यालय सल्यानका निमित्त प्रमुख सुलोचना महर्जनले जानकारी दिइन्।

अस्पतालमा अहिले एकजना मात्र डाक्टर छन्। ६ जना मध्य एक जनाको सरुवा, दुई जनाले जागिर छाडेका, एक जना अध्ययन बिदामा र एक जना तालिममा रहेकाले अस्पतालको सेवा प्रभावित भएको छ। यो अस्पताल सल्यानको एक मात्र ठूलो हो। १५ शय्याको अस्पतालमा दैनिक २०० जनाभन्दा बढी बिरामी आउथें। तर‚ अहिले अधिकांश बिरामी निजी अस्पताल र जिल्लाबाहिर जान बाध्य छन्।

एक्लैले इमरजेन्सी, ओपिडी, अप्रेसन सम्भव नभएको डा. अभिषेक सिंहले बताए। अस्पतालमा बिरामी आए पनि बाध्य भएर बाहिर रिफर गर्नु परेको उनको भनाइ छ।

यता अस्पताल विकास समितियका अध्यक्ष सिपी ओलीले भने आफूहरूले पटकपटक डाक्टरको माग गर्दा पनि प्रदेश र संघीय सरकारले बेवास्ता गरेको बताए। जिल्ला अस्पतालमा डाक्टर आए पनि छिटो सरुवा हुने गरेकाले समस्या उनको भनाइ छ।

अहिले शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द भएपछि सल्यानसहित रुकुम पश्चिम र रोल्पाका केही भागका बिरामी र गर्भवती बढी समस्यामा परेका छन्।