सल्यानमा बेवारिसे वृद्धको उद्धार
![]()
सल्यान – शारदा नगरपालिका १ श्रीनगरको शिवमन्दिर नजिकै बेवारिसे अवस्थामा फेला परेका छत्रेश्वरी गाउँपालिका ४ रोक्चा घर भएका ६८ वर्षीय वृद्ध हिरालाल खत्रीको उद्धार भएको छ ।
मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको ईन्सेक लगायत अन्य सरोकारवालाको सहयोगमा खत्रीको उद्धार गरिएको हो ।
बेवारिसे अवस्थामा फेला परेका खत्रीको स्वास्थ्य अवस्था कमजोर रहेको थियो । उनी बिरामी थिए । उद्धार गरिएका वृद्ध खत्री बिरामी भएको खुल्न आएपछि जिल्ला स्थित सुरक्षित आवास गृहमा राखेर थप उपचारको लागि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ ।
पुर्ख्यौली सम्पत्ति चार भाइमध्ये तीन भाइले सबै आफ्नो नाममा बनाएपछि बस्ने घर, खेतीपाती गर्ने जग्गा, कमाइ गरेर पाल्ने कोही नभएपछि र उपचारको लागि समेत परिवारले बेवास्ता गरेपछि वृद्ध खत्री बेवारिसे अवस्थामा यताउता भौँतारिन बाध्य थिए ।
स्थानीयले खबर गरेपछि बेवारिसे अवस्थामा फेला परेका वृद्धको उद्धार गरिएको ईन्सेक सल्यानकी प्रमुख मीना बुढाथोकीले बताइन् । उनलाई अहिले उपचारको लागि जिल्ला अस्पताल लगेर भर्ना गरिएको उनले जानकारी गराइन् । उनका अनुसार जिल्ला अस्पताल सल्यानमा नि:शुल्क उपचार गर्न थालेपछि वृद्धको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
कान्तिपु दैनिक बाट








परिवर्तन संवाददाता
२५ फाल्गुन २०७८, बुधबार १०:४७