Loading... आजः २०८१ बैशाख ७, शुक्रबार

सिन्धुपाल्चोकका बाढी पीडितलाई अधिवक्ता घिसिङ र अभियन्ता विष्टको राहत सहयोग

काठमाडौँ : अधिवक्ता बुद्ध घिसिङ र युवा अभियन्ता प्रतीक विष्ट ‘अमर’को समूहले सिन्धुपाल्चोक बाह्रबिसेका बाढी पहिरो पीडितलाई खाद्यान्‍न र स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

गत शनिबार राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ घुम्ताङ पहिरोमा परी एक सय भन्दा धेरै विस्थापित परिवारलाई उनीहरुले राहत सहयोग उपलब्ध गराएका हुन् । यही मंगलबार उनीहरुले व्यक्तिगत खर्चबाटै घटनास्थलमा पुगेर राहत वितरण गरेका हुन् ।

सहयोगको रुपमा उनीहरुले १ सय १० बोरा चामल, १ सय २० केजी दाल, १ सय २० लिटर तेल, ६० केजी नुन वितरण गरिएको थियो । यस्तै व्यान्डेज, बेटाटिन, डिटोल, जीवनजल, सिटामोल र व्रोफिन, स्यानिटाइजर, ग्लोब्स लगायत स्वास्थ्य सामग्री पनि वितरण गरिएको थियो ।

राहत वितरणमा राजु सुन्दास, रमेश भण्डारी, रमेश लामा लगायतले पनि सहायता रहेको बताइएको छ । भदौ २८ गतेको पहिरोबाट यहाँका एक सय भन्दा धेरै घर परिवार विस्थापित भइ नजिकैको गाउँमा पाल टाँगेर बस्न बाध्य छन् । स्थानीय जनप्रतिनिधिहरुका अनुसार घुम्ताङका अन्य परिवार पनि पहिरोको उच्च जोखिममा छन् ।

पहिरोपछि सामुहिक रुपमा खाना र पालमा बसोबास गर्दैआएका बाढी पीडितहरुका लागि केही दिनमै १ सय भन्दा बढी ग्यास सिलिन्डर र चुलो सहित थप दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने अधिवक्ता घिसिङले प्रतिवद्धता व्यक्त गरेका छन् ।

घुम्ताङको भीरखर्क र नागपूजेमा शनिवार मध्यराति आएको पहिरोमा १४ जनाको शव भेटिएको छ । मंगलबारसम्म घटनास्थलमै १८ जना वेपत्ता छन् ।

पहिरोबाट ३० घर पूर्ण रुपमा क्षति भएका छन् भने ६० घर पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोमा परी ९ जना घाइते भएका थिए । उनीहरुको काठमाडौँमा उपचार भइरहेको स्थानीय जनप्रतिनिधिले जनाएका छन् ।

बाह्रबिसे नगरपालिकाले पहिरोमा मृत्यु भएका परिवारलाई एक लाख सहयोग गर्ने घोषणा गरेको छ । साथै घाइतेहरुको सम्पूर्ण उपचार खर्च पनि नगरपालिकाले नै ब्यहोर्ने जनाएको छ ।