Loading... आजः २०८१ बैशाख २०, बिहीबार

गुराँस गाउँपालिकाका पदाधिकारीद्वारा पदभार ग्रहण

निःशुल्क स्वास्थ्य वीमा गरिदिने, सामाजिक सुरक्षाभत्ता वडाबाटै वितरण गर्ने निर्णय

दैलेख – गुराँस गाउँपालिकामा निर्वाचित अध्यक्ष टोपबहादुर बिसी र उपाध्यक्ष शिवा खड्काले पदभार ग्रहण गरेका छन ।

शुक्रवार एक समारोहकाबीच अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण गरेका हुन ।पदभार ग्रहण गरेसँगै जनतामा प्रभाव पर्ने विभिन्न निर्णयसमेत भएका छन् । निर्णयअनुसार अब गुराँस गाउँपालिकामा स्थायी बसोबास गर्ने दलित तथा एकल महिला घरमुली रहेको परिवारलाई प्रोत्साहन स्वरुप आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वार्षिक वजेटमा स्वास्थ्य वीमा लगायत उचित सामाजिक सुरक्षा कार्यक्रमहरु समावेश गरिने भएको छ ।

यसैगरी, गुराँस गाउँपालिकामा यसअघि प्रभु बैङ्कको रानीमत्तास्थित शाखा मार्फत् बृद्धभत्तासहितका सबैखाले सामाजिक सुरक्षाभत्ता वितरण गर्ने गरिएकोमा अब भने भौगोलिक विकटताको कारण बैङ्कसँग समन्वय गरी सम्बन्धित वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितकुमार थापाकाअनुसार यस गुराँस गाउँपालिकाको केन्द्र लगायत विभिन्न भागहरुमा दुरसञ्चार प्रदायक मोवाइल नेटवर्कको पहुँच नपुगेकाले जनस्तरमा असर परेको हुँदा दुरसञ्चार प्राधिकरणसँग आवश्यक समन्वय गरी उक्त समस्या समाधान गर्ने निर्णयसमेत भएको छ ।

थापाकाअनुसार कक्षा १० जोड २ सञ्चालन भएका विद्यालयहरुमा बार्षिक परिक्षाको कार्यक्रम तय भैसकेको र उक्त परिक्षा सञ्चालन गर्न फर्निचर अभाव भएका विद्यालयहरुमा यथाशिघ्र फर्निचर व्यवस्थापन गर्ने निर्णय भएको छ ।