Loading... आजः २०८१ जेष्ठ ४, शुक्रबार

कर्णाली प्रदेश आन्दोलनको सात वर्ष पूरा, सहिद परिवारकाे जीविकाेपार्जनमा समस्या

सुर्खेत-  अखण्ड मध्यपश्चिमको माग राख्दै २०७२ साउन २५ गते सुर्खेतमा भएको आन्दोलनका क्रममा सहिद भएकाहरुको श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रदेश प्राप्तिका लागि भएको आन्दोलन आज (साउन २५ गते)  ७ वर्ष पूरा भएको छ ।

सो बेला सुर्खेतका तीन र जुम्लामा एक जनाको मृत्यु भएको थियोे । मध्यपश्चिम र सुदूरपश्चिमलाई गाभेर प्रदेश नम्बर ६ बनाएपछि चर्केको आन्दोलनमा प्रहरीको गाली लागि सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरको मृत्यु भएको थियो ।

कर्णाली प्रदेश जन्माउने चार जना सहिदलाई कर्णाली प्रदेश सरकारले बिर्सिँदै गएको सहिद परिवारले गुनासो गरेका छन् । सहिद  यामबहादुर बिसी स्मृति प्रतिष्ठानले गरेको सातौँं सहिद  समृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा प्रदेश सरकारले पीडामाथि झन् पीडा थप्दै गएको उहाँहरुले गुनासो गर्नुभएको छ ।

सहिद बिसीा बहिनी भगवति बिसीले अधिकार प्राप्तिको लडाईँमा रगत बगाएका सहिदलाई सरकारले अपमान गरेको बताउँदै भन्नुभयो, ‘‘प्रदेश सरकारले हामीलाई जुन प्रकारको आश्वासन दिएको थियो त्यस अनुसार काम नहुँदा पीडा बोध हुन्छ, एउटा सानो श्रद्धाञ्जली सभा आयोजना गर्न हलको व्यवस्था समेत गर्न सकेको छैन ।’’

यस्तै, वीरेन्द्रनगर ४ का सहिद गौतमका छोरो अमृत गौतमले छात्रवृतिका नाममा २४ हजार बाहेक अन्य सहयोग सरकारले नगरेको दुखेसो पोख्नुभयो ।

उहाँका आमा दुर्गादेवी गौतम दीर्घ रोगी हुनुहुन्छ । मुटुको भल्व परिवर्तन गरेका दुर्गादेवीलाई अहिले उपचारमा समस्या भइरहेको छ । आम्दानीको मुख्य स्रोत कृषि रहेको थियो ।

सहिदका सपना पूरा गर्न प्रदेश सरकार लागेको छ: मन्त्री बुढाक्षेत्री

श्रद्धाञ्जली सभामा बोल्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सहिदको सपना साकार पार्न लागि परेको बताउनुभयो । संघीयता प्राप्ति पछिको आन्दोलनले कर्णाली जन्मेको भन्दै मन्त्री बुढाक्षेत्रीले प्रदेश प्राप्तिको आन्दोलनमा राज्य पक्षको गोली लागि सहादत प्राप्त गर्ने चार जनालाई कर्णाली सरकारले उच्च सम्मान गरेको  बताउनुभयो । उहाँले सहिदको सम्झनामा प्रादेशिक सहिदपार्क स्थापना गरिएको उल्लेख गर्दै परिवारका बालबालिकालाई छात्रवृति, जीविकोपार्जन, रोजगारी, घाइतेहरुको उपचार र उत्थानमा प्रदेश सरकारले विशेष योजना अगाडि सार्ने प्रतिबद्धता जनाउनुभयो । गोरखापत्र दैनिक बाट