Loading... आजः २०८१ बैशाख २०, बिहीबार

कोरोना प्रतिकार्यमा कर्णाली सरकार

 

सुर्खेत – कर्णाली प्रदेश सरकार कोरोना सङ्क्रमण प्रतिकार्यमा जुटेको छ । कोभिड–१९ रोकथाम, निदान र उपचारसम्बन्धी कामलाई प्रभावकारी बनाउन गठित प्रदेशस्तरीय निर्देशक समितिको बिहीबार बसेको बैठकले परीक्षणको दायरा बढाउने, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने, खोप अभियान समुदाय स्तरसम्म पुर्‍याउने मातहतका निकायलाई निर्देशन दिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ को पछिल्लो अवस्था, रोकथामका लागि अपनाइएका प्रयासहरु र चुनौतिका बारेमा समिक्षा गरेको हो ।

मुख्यमन्त्री शाहीले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहको संयुक्त प्रयासबाट सङ्क्रमण रोकथाममा सफलता मिल्ने हुँदा आपसी समन्वय र सहकार्यका माध्यमबाट प्रतिकार्यमा जुट्नुपर्ने बताउनुभयो । उहाँले चाडपर्व नजिकिँदै गरेकाले लापरबाही नगरी सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने/गराउनेतर्फ ध्यान दिनुपर्नेमा बताउनुभयो । बैठकमा प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, सुर्खेतका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी कार्यालयसहित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

बैठकले सामाजिक विकास मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइका साथै बिरामीलाई उपचारका लागि पायक पर्ने स्वास्थ्य संस्था पठाउने सहज व्यवस्था मिलाउन निर्देशन समेत दिएको छ । त्यस्तै, स्थानीय तथा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिलाई सक्रिय बनाउन, सबै तहका अस्पतालहरुमा औषधि, उपकरण र सुरक्षा सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । कोभिडको सङ्क्रमणबाट सुरक्षित रहने एकमात्र उपाय खोप भएको तर हालसम्म खोपको कभरेज अपेक्षित नभएको निर्देशक समितिको निष्कर्ष रहेको छ ।

बैठकले पूर्ण खोप नलगाएका, पूर्ण खोप नपाएका र थप मात्रा (बुस्टर डोज) नलगाएकालाई तत्काल खोप सेवा दिने व्यवस्था मिलाउने निर्णय गरेको छ । कर्णाली प्रदेशमा हालसम्म १० लाख ७७ हजार ५८२ जनाले कोभिडविरूद्धको पहिलो मात्रा तथा १० लाख ४६ हजार ७४९ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । बुस्टर डोज लगाउनेको सङ्ख्या भने कम छ । प्रदेशका चार लाख १३ हजार ४६६ जनाले मात्र बुस्टर डोज लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशक डा. रबिन खड्काले स्थानीय स्तरसम्म खोप उपलब्ध रहेपनि मानिसहरु सम्पर्कमै आउन नचाहेको बताउनुभयो । “सङ्क्रमणको वृद्धिदर हेर्दा यसलाई चौथो लहरभन्दा फरक पर्दैन,” उहाँले भन्नुभयो, “सङ्क्रमणको वृद्धिदर र नागरिकको लापरबाहीको अवस्था चिन्ताजनक छ, जनस्वास्थ्यका मापदण्ड पालनामा सबै सचेत हुनुपर्ने अवस्था रहेको छ ।

गोरखापत्र दैनिक बाट