Loading... आजः २०८१ बैशाख १३, बिहीबार

मन्त्रालय भागबण्डाको टुंगो लागेको छैनः उपसभापति खड्का

काठमाडौं –  नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरूबीच मन्त्रालयको भागबण्डा नटुंगिएको बताएका छन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय नटुंगिएको बताएका हुन्। उनले गठबन्धन दलका नेताहरुबीच छलफल भइरहे पनि कुन पार्टीले कुन मन्त्रालय पाउने भन्ने टुंगो नलागेको बताए।

उनले कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको बताए।

उनले भने‚ ‘नेपाली काँग्रेसले औपचारिक रुपमा कुनै निर्णय गरेको छैन। नेपाली काँग्रेस मात्रै होइन कुनै पनि दलले कुन मन्त्रालय लिएर सहभागी हुने भन्ने अन्तिम निर्णय भइसकेको छैन। अहिले सबै कुरा छलफलको क्रममा छ। छलफल घनिभूत रुपमा प्रधानमन्त्रीले समन्वय गरेर गरिरहनुभएको छ। गठबन्धन दलका नेताहरुसँग पनि छलफल भइराखेको छ। अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालयमा सहभागी हुने भन्ने कुरा टुंगो लागेको छैन। काँग्रेसको तर्फबाट औपचारिक रुपमा को–को जाने, कसले नेतृत्व गर्ने भन्ने औपचारिक निर्णय भइसकेको छैन।’

उनले आगामी ३ दिनभित्र सरकारले पूर्णता पाउने दावी गरे। प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दलहरुसँग संवाद गरिरहेको भन्दै ३ दिनभित्र सरकारले पूर्णता पाउने उनले बताए।

उनले भने‚ ‘गठबन्धनको बैठक प्रत्येक दिन बसिराखेको छ। कहिले सबै दलका नेताहरु बस्नुहुन्छ। कहिले त्यसमध्येका केही नेताहरु बस्नुहुन्छ। कहिले प्रधानमन्त्रीले गठबन्धनसँग जोडिएका विश्वासको मत दिने दल र त्यो विश्वासका मत दिँदा गठबन्धनमा छौँ भन्ने दलहरुका बीचमा प्रधानमन्त्रीले संवाद गरिरहनुभएको छ। मलाई लाग्छ अब उहाँले ४र५ दिनमा हामी यसलाई टुंग्याउँछौ भन्नुभएको थियो विश्वासको मत दिएपछि। त्यही स्पिडमा काम भइराखेको छ। मलाई लाग्छ सम्भवतः २र३ दिनभित्र सरकारले पूर्णता पाउँछ। सहमतिमा, सबैको सहभागिता, सबैको उचित प्रतिनिधित्व हुने गरी हामी सहमतिको आधारमा यो कुरालाई टुंग्याउँछौँ।’

उपसभापति खड्काले हालसम्म भइरहेको छलफलमा सरकार विस्तारका सम्बन्धमा कसैको असहमति नभएको उल्लेख गरे। सबैको सहभागिता र उचित प्रतिनिधित्व हुने गरी सबैको सहमतिमा सरकारलाई पूर्णता दिइने उनको भनाई छ। थाहाखबर बाट