Loading... आजः २०८१ बैशाख १७, सोमबार

कर्णालीमा सभामुख ससिहत र पाँच मन्त्रालयमा माओवादीको दावि

सुर्खेत – कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रले सभामुखसहित पाँच मन्त्रालयमा दाबी गरेको छ ।

शक्ति सन्तुलनमा सहहति हुन नसकेपछि नयाँ सरकार गठनमा समेत ढिलाइ हुने देखिएको छ ।

एमालेका यामलाल कँडेललाई मुख्यमन्त्री बनाउने सहमतिका साथ मुख्यमन्त्री राजकुमार शर्माले बुधबार राजीनामा दिएका थिए । कँडेल नयाँ सरकार बनाउन बुधबारै कस्सिएका थिए । तर, माओवादीसँग पावर शेयरिङमा कुरा नमिल्दा बिहीबार पनि नयाँ सरकार अगाडि बढ्न सकेन ।

यद्यपि प्रदेश प्रमुखले नयाँ सरकार गठनको दाबी गर्न सात दिनको समय दिएका छन् ।

माओवादीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि एमालेले बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गर्न खोजेको तर माओवादीले सबै प्याकेजमा हल गर्नुपर्ने अडान राखेपछि मुख्यमन्त्रीमा दाबी गर्न नपाएको माओवादीका सांसद दुर्गबहादुर रावतले बताए । उनले भने, ‘एमालेले मुख्यमन्त्रीमा आजै दाबी गर्न खोजेको थियो । तर, हामीले सभामुख, अर्थ मन्त्रालयसहित पाँच मन्त्रालय मागेका छौँ । त्यो सहमति नहुँदासम्म प्रक्रिया अगाडि बढ्दैन ।’

तर, एमालेले बिहीबार नै मुख्यमन्त्रीमा दाबी पेस गर्ने र अरु भागवण्डा बिस्तारै गर्न चाहेको थियो । माओवादीले भने सभामुखसहित मागेका मन्त्रालय नपाए तत्काल प्रक्रियामा सहभागी नहुने जनाएको छ ।

एमालेले माओवादीलाई संसदबाट विश्वासको मत लिन दिएर केहि दिन सरकार चलाएर राजीनामा दिने भन्दा नमानेकाले माओवादीले पनि प्याकेजमा सहमति नगर्दासम्म समर्थन नगर्ने जनाएको छ ।