कर्णालीबाट कांग्रेस पदाधिकारीमा दाबी बढ्दै

कृष्ण शर्मा सुर्खेत । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६–२८ गते हुँदैछ ।
मिति नजिकिँदै जाँदा देशभर काँग्रेस नेता–कार्यकर्ताको ध्यान महाधिवेशनतर्फ केन्द्रित भएको छ । कर्णाली प्रदेशबाट पनि शीर्ष नेतृत्वदेखि अन्य पदाधिकारीसम्मका दाबेदार खुल्न थालेका छन्। कर्णालीमा पूर्णबहादुर खड्का, हृदयराम थानी, जीवनबहादुर शाही र भूपेन्द्रजंग शाही मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।
कर्णालीमा संस्थापन पक्षका प्रमुख नेता पूर्णबहादुर खड्का र जीवनबहादुर शाही हुन् भने शेखर कोइराला समूह ९इतर पक्ष० बाट हृदयराम थानी र भूपेन्द्रजंग शाही सक्रिय छन्।
पहिले बलियो मानिएको थानी पक्ष १४औँ महाधिवेशनपछि कमजोर भए पनि यसपटक पुनः प्रभाव विस्तार गर्ने लक्ष्यमा छ। थानी समूहका अनुसार यो पटक कर्णालीमा टिम बनाएर शक्तिशाली उपस्थिति जनाउने तयारी भइरहेको छ।
पूर्णबहादुर खड्का– सभापतिको मुख्य दाबी
हाल कार्यवाहक सभापति रहेका पूर्णबहादुर खड्का केन्द्रमै सभापति बन्ने बलियो लाइनमा छन्। देउवा पक्षले उनलाई भावी सभापति मात्र नभई सम्भावित प्रधानमन्त्रीकै रूपमा पनि प्रचार गरिरहेको छ।
राजनीतिमा तीन दशकभन्दा बढी समय बिताएका खड्का विश्वासिलो, जिम्मेवार र विवादरहित नेता मानिन्छन्। कहिल्यै पनि देउवाको साथ नछाड्ने नेता खड्का कर्णालीमा अत्यधिक लोकप्रिय छन्। यसकारण कर्णालीका धेरै नेताहरूले “यो पटक सभापति खड्कानै” हुने अपेक्षा राखेका छन्।
जीवनबहादुर शाही– पदाधिकारीको प्रबल दाबी
अघिल्लो महाधिवेशनमा सहमहामन्त्रीको प्रतिस्पर्धामा पराजित भए पनि उनी अहिले प्रदेशभरका कार्यकर्ताबीच सक्रिय छन्। परिस्थिति अनुसार सहमहामन्त्रीदेखि माथिल्लो पदसम्म लड्ने तयारीमा छन्।
समावेशी कोटाबाट कर्णालीका प्रमुख पात्र मानिने उनी पूर्णबहादुर खड्कापछिका सर्वस्वीकार्य नेता हुन्।
हृदयराम थानी– इतर पक्षका मुख्य चेहरा
शेखर कोइराला समूहका पुराना र इमानदार नेता थानी यसपटक पदाधिकारीमा जाने इच्छुक छन्। अघिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भए पनि कर्णालीमा उनको जनाधार यथावत् छ।
शेखर समूह कर्णालीमा बलियो हुँदै गएको दाबी पनि थानी पक्षले गरेको छ। प्रतिनिधि छनोटको अवस्था हेरेर पद टुंगो गर्ने रणनीति थानीले लिएका छन्।
भूपेन्द्रजंग शाही– युवा पुस्ताबाट महामन्त्रीको दाबी
नेविसंघ, तरुण दल हुँदै राष्ट्रिय राजनीतिसम्म आएका भूपेन्द्रजंग शाही संगठन विस्तारमा अत्यन्त सक्रिय युवा नेता हुन्।
देशभर अभियान चलाउँदै कर्णालीको राजनीति प्रभावशाली बनाइरहेका उनले यसपटक शेखर समूहबाट महामन्त्रीमा दाबी गर्ने तयारी गरेका छन्। आवश्यक परे सहमहामन्त्रीमा पनि लड्ने बताइएको छ।







परिवर्तन संवाददाता
२७ मंसिर २०८२, शुक्रबार ०६:२०