Loading... आजः २०८२ माघ १७, शुक्रबार

राष्ट्रियसभा निर्वाचनः कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी

सुर्खेत –राष्ट्रियसभा सदस्यका लागि सम्पन्न निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

आइतबार भएको मतदानमा कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार बनेका ललितजंग शाही र मिना सिंह रखाल विजयी भएका हुन् । ललितजंग शाही नेपाली कांग्रेसका तर्फबाट तथा मिना सिंह रखाल नेकपा एमालेकी उम्मेदवार हुनुहुन्छ ।

अन्य क्लस्टरतर्फ उम्मेदवार रहेका शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहबाट १०० मतभार प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा उम्मेदवार बुद्धिप्रसाद शर्माले प्रदेशतर्फ १३ र स्थानीयतर्फ ५० मतभार प्राप्त गर्दै पराजित हुनुभयो ।

यसैगरी, महिला क्लस्टरतर्फ एमालेकी उम्मेदवार रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तहबाट ९३ मतभार प्राप्त गरी विजयी हुनुभयो । उहाँकी प्रतिद्वन्द्वी नेकपाकी अन्जु महतारा शाहीले प्रदेशतर्फ १३ र स्थानीयतर्फ ५५ मतभार पाउँदै पराजय भोग्नुभयो ।

निर्वाचनमा कर्णाली प्रदेशसभा सदस्य ३९ जना र स्थानीय तहका १५२ जना प्रतिनिधिले मतदानमा सहभागिता जनाएका थिए ।