Loading... आजः २०८२ माघ २०, सोमबार

दैलेखमा नसर्ने रोगबारे जनचेतनामूलक सडक नाटक प्रदर्शन

यामराज कटुवाल,दैलेख। नसर्ने रोगका कारण समाजमा बढ्दै गएको स्वास्थ्य समस्याबारे जनचेतना फैलाउने उद्देश्यले दैलेखको नारायण नगरपालिका देवकोटा चोकमा सडक नाटक प्रदर्शन गरिएको हो । नारायण नगरपालिका दैलेखको आयोजनामा तथा सोसेक नेपालद्वारा सञ्चालित सामाजिक व्यवहार परिवर्तन (SBC) परियोजनाको प्रायोजन र युनिसेफ नेपालको आर्थिक सहयोगमा सोमबार उक्त जनचेतनामूलक सडक नाटक देखाइएको हो।

“हाम्रो गाउँ, हाम्रा बालबालिका” भन्ने मूल नारासहित बालबालिकामा देखिने नसर्ने रोगसम्बन्धी सचेतना फैलाउने उद्देश्यले प्रस्तुत गरिएको उक्त नाटकमा समाजमा विद्यमान अन्धविश्वास, गलत स्वास्थ्य अभ्यास तथा त्यसबाट उत्पन्न हुने जोखिमलाई चित्रण गरिएको थियो। नाटकमार्फत नसर्ने रोग लागेमा धामी–झाँक्रीको पछि लाग्नुको सट्टा समयमै स्वास्थ्य संस्थामा गई उपचार गराउनुपर्ने सन्देश प्रवाह गरिएको थियो।

कार्यक्रममा नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले समाजमा नसर्ने रोगहरूको दर दिनानुदिन बढ्दै गइरहेको बताउँदै यस्ता रोगको नियन्त्रणका लागि जनचेतना अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो। “नसर्ने रोग लागेपछि धामी–झाँक्रीको भर पर्नु हुँदैन, तुरुन्तै अस्पतालमा लगेर जाँच गराउनुपर्छ र खानपानमा विशेष ध्यान दिनुपर्छ,” उहाँले भन्नुभयो।

स्वास्थ्य शाखाको पहलमा सडक नाटकजस्ता सृजनात्मक माध्यम प्रयोग गरेर जनतालाई सचेत गराउने प्रयास गरिएको उहाँको भनाइ थियो।
नारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिवकुमार यादवले सोसेक नेपाल र नारायण नगरपालिकाको साझेदारीमा नसर्ने रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू विद्यालय तहसम्म सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले बालबालिकामा देखिने छारेरोग, मधुमेह,उच्च रक्तचापजस्ता नसर्ने रोगका विषयमा विद्यार्थी, अभिभावक र समुदायलाई सचेत गराउँदै आएको बताउनुभयो।
सडक नाटकमा छारेरोगका कारण लडेका एक बालकलाई धामीकहाँ लैजाँदा अवस्था झन् बिग्रिएको र पछि शिक्षकको सुझाबमा अस्पताल लगेर उपचार गरिएपछि बालकको अवस्था सुधार भएको दृश्य देखाइएको थियो। नाटकले अन्धविश्वास त्यागेर वैज्ञानिक उपचार पद्धति अपनाउनुपर्ने सन्देश प्रभावकारी रूपमा प्रस्तुत गरेको थियो।
उक्त सडक नाटक अवलोकन गर्न करिब ३ सय जना दर्शकको उपस्थिति रहेको थियो। दर्शकहरूले नाटकले समाजमा गहिरोसँग जरा गाडेको अन्धविश्वास हटाउन र स्वास्थ्यप्रति जिम्मेवार बन्न प्रेरणा दिएको प्रतिक्रिया दिएका थिए।
नारायण नगरपालिकाले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै नसर्ने रोग नियन्त्रण र स्वस्थ समाज निर्माणमा जोड दिने जनाएको छ।