Loading... आजः २०८२ माघ ७, मंगलवार

कांग्रेसमा विशेष महाधिवेशनको आह्वान

तयारीका लागि १८ वटा विभिन्न समिति गठन

२३ पुस, काठमाण्डौ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको छ। बुधबार काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमार्फत यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने घोषणा गरिएको हो।

महाधिवेशनको सूचना तथा प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले विधानको मर्म र भावनाअनुसार विशेष महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँले महाधिवेशनलाई भव्य र सार्थक बनाउन सबै महाधिवेशन प्रतिनिधिलाई सक्रिय र उत्साहपूर्ण सहभागिताका लागि आह्वान गर्नुभयो।

पोखरेलले पार्टी केन्द्रले विशेष महाधिवेशनको स्वामित्व लिँदै आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार वर्तमान संवेदनशील राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई एकताबद्ध र थप सुदृढ बनाउन यो विशेष महाधिवेशन महत्वपूर्ण हुने छ।

उहाँले विशेष महाधिवेशनको तयारीका लागि १८ वटा विभिन्न समिति गठन गरिएको जानकारी पनि दिनुभयो।

पार्टीभित्र बढ्दो विवाद र नेतृत्व तहप्रतिको असन्तुष्टिका बीच विशेष महाधिवेशन पक्षधर समूहले केन्द्रीय महाधिवेशन आह्वान गरेको हो। यता, पार्टी कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको निष्कर्ष निकाल्दै आउँदो जेठ मसान्तसम्मका लागि केन्द्रीय कार्यसमितिको कार्यअवधि थप गरिसकेको छ।