अनेरास्ववियु द्वारा सडक बहस
काठमाडौं – स्थानीय चुनाव लगायतका निर्वाचनहरू समयमै गर्नुपर्ने मागसहित अनेरास्ववियुको सडक बहस गरेको छ।
प्रदशनीमार्ग स्थित नेपाल ल क्याम्पसअगाडि संविधानविद्, अधिवक्ताहरूका साथै अनेरास्ववियुका नेता कर्यकर्ताको बाक्लो उपस्थितिबीच सडक बहस जारी छ।
बहसका क्रममा बढ्दो कोरोना महामारीको बेवास्ता गर्दै बाक्लो भिडबाड देखिन्थ्यो। उपत्यकाका तिनै जिल्लाका सिडियोले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको भए पनि त्यसको पालना भएको पाइँदैन।
एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले निर्धारित समयमै स्थानीय चुनाव गराउनका लागि सरकारलाई दबाब दिँदै आएको छ।
मंगलबार मात्र अनेरास्ववियुले पुल्चोकस्थित मन्त्री सवार गाडी रोकेर कालोझण्डा देखाएको थियो। त्यस्तै, साँझमा विभिन्न क्याम्पसबाट राँके जुलुससहित प्रदर्शन गरेको थियो।
यता, सरकारले मंगलबार नै निर्वाचन आयोगसँग परामर्श गरेको छ। आयोगले सरकारलाई आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गराउन मिति प्रस्ताव गरेको छ।
आयोगको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मन्त्रिपरिषदको बैठकले निर्वाचनको मिति तोक्ने भएकाले तयारीमा लाग्न निर्वाचन आयोगलाई निर्देशनसमेत दिइसकेका बताइएको छ।








परिवर्तन संवाददाता
१९ माघ २०७८, बुधबार १३:१८