संसद् बैठक आधा घण्टाका लागि स्थगित
काठमाडौं – प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ। एमसिसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले दाेस्रो बैठक साढे ६ बजेका लागि आव्हान गरेका छन्। दाेस्रो बैठकले एमसिसी पास गर्ने जनाइएको छ।
आजको दाेस्रो बैठकबाट एमसिसी व्याख्यात्मक घोषणासहित पारित गर्ने सत्ता गठबन्धनले बिहान निर्णय गरेको थियो। पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसी छलफलका लागि पेश गरेको प्रस्तावमा विभन्न पार्टीका सांसदहरूले धारणा राखेका थिए।
सांसद्हरूकाे धारणाको विषयमा अर्थमन्त्री शर्माले जवाफ फर्काए। शर्माले मन्त्रिपरिषदले ल्याउने व्याख्यात्मक घोषणाले एमसिसीबारे उठेका सबै प्रश्नको जवाफ दिने बताए।
उनले अहिलेको सरकारले राष्ट्रहित विपरित कुनै सम्झौता नगर्ने पनि स्पस्ट पारे। उनले एमसिसीबारे सडकदेखि सदनसम्म उठेका सबै प्रश्नको जवाफ व्याख्यात्मक घोषणाले समेट्ने उल्लेख गरे। एमसिसीको व्याख्यात्मक घोषणाबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक संसद् भवनमै बस्दैछ।
विपक्षी नेकपा एमालेका सांसदले भने आज पनि सदन अवरोध जारी राखे।








परिवर्तन संवाददाता
१५ फाल्गुन २०७८, आईतवार १८:५२