Loading... आजः २०८२ माघ २०, सोमबार

पूर्वमन्त्री तथा सचिव श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 

काठमाडौं – नेपाल सरकारका पूर्व सचिव रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठविरुद्ध चार करोड ४५ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

श्रेष्ठले पदमा रहँदा श्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा आधारित रहेर अनुसन्धान गर्दा विभिन्न पदमा रहेर कुल ६ करोड ९० लाख १६ हजार ६२७ रुपैयाँको स्रोत खुलेको आयोगले जनाएको छ।

उनले जागिर अवधिभित्र ११ करोड ३५ लाख ४४ हजार २९४ रुपैयाँ ३८ पैसा खर्च गरेको पाइएकाले आम्दानीको तुलनामा खर्चमा ४ करोड ४५ लाख २७ हजार ६६६ रुपैयाँ बढी रकमको स्रोत नखुलेको अख्तियारले जनाएको छ।

२०३६ कार्तिक २६ गते शाखा अधिकृत पदमा नियुक्त भएका श्रेष्ठ २०६४ माघ ८ गते सचिवबाट अनिवार्य अवकाश पाएका थिए। उनले २०६९ चैत ६ देखि २०७० माघ २९ सम्म पर्यटन, शान्ति तथा खेलकुद मन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका थिए।

आयोगले उनी सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि २०७२ पुस ८ सम्मको अवधिलाई जाँच अवधि कायम गरी उनको आम्दानी र खर्चको तुलना गरेको हो।