Loading... आजः २०७८ जेष्ठ १, शनिबार

गायक पुरुषोत्तम पौडेलको ‘ओइ कान्छु म जान्छु परदेश…’

काठमाडौँ : लोक गायक पुरुषोत्तम पौडेलको मर्मस्पर्शी गीत ‘ओइ कान्‍छु म परदेश जान्‍छु’ सार्वजनिक भएको छ ।

पौडेलको साथमा शान्ती श्री परियारको पनि स्वर रहेको छ । नेत्र अर्यालको शब्द रहेको यस गीतको लय सिर्जना खेम सेन्‍चुरीले गरेका हुन् । पौडेलले हालै भिडियो सार्वजनिक गर्दै यो गीत नेपाली युवाहरुको वास्तविकता र नेपाली समाजको नियति भएको प्रतिक्रिया दिएका छन् । साथै गीत सफल हुने अपेक्षा राखेका छन् ।

गीतको म्युजिक भिडियोमा अन्जली अधिकारी र खेम सेन्चुरीको जीवन्त अभिनय छ । जहाँ उनीहरु विवाहित जोडीको रुपमा ग्रामिण भेगमा दैनिक गुजाराका लागि संघर्ष गरिरहेका हुन्छन् । जीवन कठिन बन्दै गएपछि खेम विदेश जान चाहन्छन् तर अन्जलीले इन्कार गर्दैआएकी हुन्छिन् ।

परिवार पाल्नका लागि विदेश जान चाहने श्रीमान र श्रीमानलाई छोड्न नचाहने श्रीमतीबीचको संवाद गीतमा छ । म्युजिक भिडियोको छायांकन करन चैसिरले गरेका हुन् भने शिव पौडेलले सम्पादन गरेका छन् । यस्तै कपिल लामाको निर्देशनमा बनेको उक्त भिडियो उमंग म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

‘महामारी काण्ड’ गीतको सफलतापछि गायक पुरुषोत्तम पौडेलले ‘ओए कान्छु…’ बजारमा ल्याएका हुन् । पौडेलको यसअघिको ‘महामारी काण्ड’ अत्याधिक सफल बनेको थियो । जुन गीत कोरोना महामारीमा विदेशबाट घर फर्केको युवाको कहानीमा आधारित थियो ।