Loading... आजः २०८३ बैशाख ७, सोमबार

२० मेगावाटसम्मका विद्युत आयोजना निर्माणका लागि अध्ययन गर्दै कर्णाली

सुर्खेत – कर्णाली प्रदेशले २० मेगावाटसम्मका विद्युत आयोजना निर्माणका लागि अध्ययन थालेको छ ।

जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले २० मेगावाटसम्मका विद्युत आयोजना अध्ययन गर्नुका साथै सम्भावित आयोजनाको स्क्रिनिङ र्‍यांकिङ गरी निर्माण अगाडि बढाउन लागेको बताए। उनले निर्माण चरणमा रहेका जलविद्युत आयोजनामा शेयर लगानी सुरु भएको जानकारी दिए।

भेरी, तिला, जेवा, नलगाड, कर्णाली लगायत एक दर्जन साना खोला रहेको कर्णालीमा विद्युत् उत्पादनका लागि विभिन्न स्थानमा अध्ययन चलिरहेको छ। मन्त्रालयले पहिलो चरणमा डोल्पामा रहेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनामा लगानीको काम सुरु गरेको छ। त्यस्तै दैलेखको रारा जलविद्युत आयोजना शेयर लगानी आह्वान गर्न लागिएको छ।

मन्त्रालयका योजना महाशाखाका प्रमुख गोपाल शर्माले तिला र जेवा नदीमा जलविद्युत आयोजनामा समेत लगानी गर्न लागेको बताए। जाजरकोटको ताक्सुगाड जलविद्युत आयोजना निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको छ। नलगाड जलविद्युत आयोजनासँग ताक्सुगाड जलविद्युत आयोजना कर्णाली प्रदेश सरकारले बनाउनका लागि माग गरिएको मन्त्री सिंहले जानकारी दिए।

सात मेगावाट विद्युत उत्पादन क्षमता रहेको ताक्सुगाड जाजरकोट नलगाड नगरपालिका १० मा पर्छ। विद्युत विकास ऐन निर्माण गरी मन्त्रिपरिषदमा पेश गर्न लागिएको छ । विद्युत विकास ऐनमा समेत २० मेगावाटसम्मका जलविद्युत आयोजना प्रदेशले बनाउने भन्ने उल्लेख छ।

स्वदेशी लगानीमा निर्माण हुन लागेको जगदुल्लामा शेयर लगानी आह्वान गरी छिटो परिणाम निकाल्नेगरी काम गर्नका लागि जलस्रोत तथा उर्जा विकास मन्त्रालय तिव्र रूपमा लागेको मन्त्री सिंहको भनाइ छ।

आयोजना स्थलमा सडक लिनका लागि भएको बाधा व्यवधान हटाउन मंगलबार तीनवटा मन्त्रालयबीच छलफल समेत भएको छ। छलफलले त्रिवेणीबाट आयोजना निर्माणस्थलसम्म जानका लागि बाटोमा लागेको चट्टान फुटाउन आवश्यक पर्ने सबै खालका समस्या हल गर्ने सहमति भएको छ ।

संविधानले दिएको व्यवस्था अनुसार प्रदेश सरकारले कर्णालीमा सम्भाव्यता अध्ययनलाई तीव्र गतिमा पुर्याउने लक्ष्य रहेको छ । सम्भाव्यता अध्ययनका लागि  मन्त्रालयले एक करोड ५० लाख बजेट बिनियोजन गरेको छ । त्यस्तै पाँच करोड रारा जलविद्युत आयोजना, ११ करोड जगदुल्ला जलविद्युत आयोजना, ताक्सुगाडका लागि एक करोड ५० लाख तथा तिला र जेवामा सम्भाव्यता अध्ययनका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

मन्त्री सिंहले कर्णाली क्षेत्रमा रहेका जलविद्युत आयोजनाका लागि ७८ करोड ६० लाख रकम निनियोजन गरेको बताए। तत्काल विद्युत आयोजना निर्माण गर्न नसकिने ठाउँमा नविकरणीय उर्जा कार्यक्रममार्फत जनताको घर दैलोमा उज्योलो दिने अभियानमा मन्त्रालय जुटेको उनले बताए। उनका अनुसार पाँच करोड रुपैयाँमा नविकरणीय उर्जा उपलब्ध गराउन लागिएको छ।

थाहा खबर बाट साभार