पेट्रोलियम खानी खोज्न चिनियाँ टोली नेपालमा अध्ययनका लागि दुई उपकरण ल्याउनुपर्ने

विविसी – कोरोनाभाइरस महामारीका कारण रोकिएको पेट्रोलियम पदार्थ तथा ग्यास खानीको अन्वेषण कार्य पुनः सुरु भएको बताइएको छ । दैलेख जिल्लामा भइरहेको त्यस्तो अध्ययनका लागि झन्डै साढे दुई वर्ष पछि सात जना चिनियाँ विज्ञ नेपाल आइपुगेका छन् ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सुधीर रजौरेका अनुसार चिनियाँ टोली हाल नेपालमा आइपुगेको भए पनि वर्षाका कारण यो बेला ठोस काम भने अगाडि बढाउन मिल्ने अवस्था छैन। हाल उक्त टोलीले ड्रिलिङ (जमिन मुनिसम्म खन्ने) उपकरण कसरी दैलेखस्थित अन्वेषण भइरहेको स्थलसम्म पुर्याउने भन्ने विषयको निर्क्योल गर्नेछ। अध्ययनका लागि दुई वटा ड्रिलिङ उपकरण नेपाल ल्याउनुपर्ने अवस्था छ।
उपकरणको तौल र आकार ठूलो हुने हुँदा त्यसलाई चीनसँगको सीमा वा समुद्री मार्ग कताबाट ल्याउन उपयुक्त हुन्छ र नेपाल ल्याइसकेपछि दैलेखसम्म कसरी पुर्याउने भन्ने कुराको यकिन यो टोलीले गर्ने छ। ”दैलेखसम्म पुर्याउनका लागि बाटो अनि पुलको अवस्था के कस्तो छ भन्ने कुरा उनीहरूले हेर्छन्,” रजौरेले भने।
अधिकारीहरूका अनुसार दैलेखमा इन्धन अन्वेषणका लागि ‘तीन वटा सम्भावित ठाउँ यकिन भइसकेको छ’। नेपाल आइपुगेको चिनियाँ टोलीले ती तीनमध्ये ड्रिलिङ सुरु गर्नका लागि सबैभन्दा उपयुक्त स्थान पनि छनोट गर्ने बताइएको छ। ”जहाँ अहिले ज्वाला बलिरहेको छ त्यसको आसपासमा छन् ती तीनै ठाउँहरू,” रजौरेले भने।
वर्षौँदेखि ग्यास बलिरहेको र पादुकास्थानमा रहेको खोलामा तेल तैरिएको देखिनुले उक्त स्थानमा तेल रहेको प्रमाणित भएको सरकारी भनाइ छ। ”तर कति परिणाममा छ भन्ने कुरा भने अनुमान गर्न धेरै गाह्रो छ,” उनले भने।
त्यही कुरा पत्ता लगाउनका लागि जमिनको सतह मुनि कम्तीमा चार किलोमिटर गहिरो ड्रिलिङ गर्ने तयारी अघि बढाइएको बताइएको छ। हालसम्म उक्त स्थानमा सतहमा साईज्मिक सर्वेक्षण र म्याग्नेटो टेलोरिक सर्वेक्षण गरिसकिएको छ जसमा आधारित रहेर सम्भावित ठाउँहरू चयन गरिएको हो।
तर एउटा स्थानमा मात्रै ड्रिलिङ गरेर निचोड भने निकाल्न नसकिने अधिकारीहरू बताउँछन्। त्यसका लागि कम्तीमा तीनदेखि चार वटा स्थानमा ड्रिल गर्न आवश्यक रहेको रजौरे बताउँछन्। हाल छनोट गरिएका तीनमध्ये कुन स्थानमा पहिले ड्रिलिङ गर्ने भन्ने कुरा चिनियाँ टोलीले यकिन गरेपछि जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ। उक्त दायित्व नेपाल सरकारको हो।
अधिकारीहरूका अनुसार सामान्य अवस्थामा काम अगाडि बढे दशैँ लगत्तै ड्रिलिङ कार्य सुरु हुन सकिने अवस्था छ। अन्वेषण स्थल खोलाको बगरमा रहेको र त्यहाँ आसपासमा बाक्लो बस्ती नरहेकाले जग्गा प्राप्तिमा धेरै समस्या नहुने बुझाइ अधिकारीहरूको छ। चिनियाँ अधिकारीहरूले तीन वटा चरणमा हालको अध्ययन सम्पन्न हुने गरी कार्य अघि बढाएका छन्।
हालसम्म सुरुवाती चरणको काम उनीहरूले सम्पन्न गरिसकेका छन्। त्यसको निचोडमा आधारित रहेर हाल ड्रिलिङ सुरु गर्ने तयारी अघि बढाइएको हो। ड्रिलिङको कार्य सम्पन्न पछि निश्चित स्थानमा कति परिमाणमा इन्धन हुनसक्छ भन्ने कुरा यकिन हुने बताइएको छ। विगतमा नेपालका विभिन्न स्थानमा पेट्रोलियम अन्वेषणको कार्य अघि बढाइएको भए पनि हाल त्यो कार्य दैलेखमा मात्रै सीमित छ।







परिवर्तन संवाददाता
१६ असार २०७९, बिहीबार १९:४७