Loading... आजः २०८२ जेष्ठ १६, बिहीबार

सीमा क्षेत्रको तस्करी एक महिनाभित्र रोक्न गृहमन्त्रीको लेखकको चेतावनी

जेठ १, सुर्खेत ।

गृहमन्त्री रमेश लेखकले सीमाक्षेत्रमा हुँदै आएको तस्करी एक महिनाभित्र पूरै रोक्न चेतावनी दिएका छन्।

बुधबार विराटनगरमा सुरु भएको प्रदेशस्तरीय सुरक्षा समीक्षा गोष्ठीमा सहभागी कोशीका १४ वटै जिल्लाका सबै सुरक्षा अधिकारीलाई उक्त चेतावनी दिएका हुन्।

गृहमन्त्री लेखकले सीमा क्षेत्रबाट हुँदै आएको चोरी तस्करीले भन्सार राजस्व छल्ने मात्र नभएर कानुनको खिल्ली उडाउँदै देशभित्र र अन्तरदेशीय अपराध समेत बढाइरहेकाले आगामी जेठ महिनाभित्र पूरै रोक्न निर्देशन दिए।

गृहमन्त्री लेखकले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका अधिकारी र सिडिओहरू सहभागी सुरक्षा गोष्ठीमा कडा निर्देशन दिए, ‘तस्करीले देशको राजस्व मात्र घटाउँदैन, कानुनको खिल्ली उडाउँदै दण्डहीनता पनि बढाउँछ। यसैले जसरी पनि नियन्त्रण हुनैपर्छ।’

तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले अलग्गै राजस्व गस्ती टोली, भन्सार कार्यालयले आफ्नै गस्ती टोली र नेपाल प्रहरीको इलाका र चौकी अनि सशस्त्रको बिओपी र गुल्महरूले जिम्मेवारी पाए पनि सीमाक्षेत्रमा वर्षौंदेखि चोरी तस्करी हुँदै आएको छ।

भन्सार राजस्व चुहावट नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति भए पनि त्यो प्रलोभनले गर्दा प्रभावहीन रहँदै आएको छ। अवैध रूपमा मिलेमतोमा चोरी तस्करी गर्नेहरूले सीमाक्षेत्रमा अवैध रूपमा आयात गरेको मालवस्तु वैध बनाउन नेपालतर्फ घरघरमा गोदाम चलाउने गरेका छन्।