Loading... आजः २०८२ आश्विन ३०, बिहीबार

कर्णालीको बजेटप्रति सांसद परियारको असन्तुष्टि ; बजेट किताब च्यातिदिए

अन्याय नसहने चेतावनी

कृष्ण शर्मा ,सुर्खेत । कर्णाली प्रदेश सभामा विपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद रणसिंह परियारले सरकारले प्रस्तुत गरेको बजेट किताब च्यातेका छन् ।

‎सोमबार बसेको प्रदेश सभा बैठकमा‌ सामाजिक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा बोल्दै उनले बजेट विभेदकारी र गरिब जनताको हित विपरीत भएको भन्दै रातो किताब च्यातेर विरोध जनाएका हुन् ।

‎सांसद परियारले बजेटमा मन्दिर र देवस्थलका लागि १२ करोड रुपैयाँभन्दा बढी छुट्याइएको तर गाई चराउने खर्क व्यवस्थापनका लागि जम्मा १० लाख रुपैयाँ राखिएको भन्दै असन्तुष्टि पोखे ।

‎त्यस्तै, उनले दलित समुदायको आयआर्जनका लागि छुट्याइएको ५ करोडको बजेट पनि अपर्याप्त र वितरणमुखी मात्र भएको उनको टिप्पणी गरेका छन ।

सांसद परियारले बजेट विनियोजनमा मन्त्रीको गृह जिल्ला र आफ्नो जिल्ला हुम्लाबिच ठुलो विभेद गरिएको तथ्याङ्क पनि प्रस्तुत गरे ।

‎विगतमा सरकारले ल्याएको ‘एक पालिका, एक नमुना विद्यालय’ जस्ता कार्यक्रमलाई निरन्तरता नदिएको र आफ्नो निर्वाचन क्षेत्रका सिमाली आवासीय विद्यालय तथा अन्य विद्यालयका लागि सिफारिस गरिएका योजनाहरूमा बजेट नपरेकोमा पनि उनले आपत्ति जनाए ।

‎आफ्नो मन्तव्यको अन्त्यमा उनले बजेट पुस्तिका हातमा लिएर भने, ’यो बजेट गरिब जनताको पक्षमा छैन ।’ यति भन्दै उनले बजेट किताब च्यातेर फालेका थिए ।

उनले यस्तो बजेटको पक्षमा उभिनुभन्दा जनतासँग माफी माग्न तयार रहेको तर अन्याय नसहने चेतावनी दिए ।‎