दैलेखमा ८०० बढी बालबालिकालाई स्वर्णबिन्दु थोपा प्राशन

यामराज कटुवाल, दैलेख । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले पाँच वर्षमुनिका ८०० भन्दा बढी बालबालिकालाई स्वर्णबिन्दु थोपा प्राशन गराएको छ ।
बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले जनाएको छ ।
स्वर्णबिन्दु थोपा प्राशन कार्यक्रम दैलेखमा पहिलो पटक सुरु गरिएको हो । स्वर्ण भस्म, ब्राह्मी घृत र मह मिसाएर तयार गरिएको अर्धतरल पदार्थ बालबालिकाको स्वास्थ्यका लागि लाभदायक हुने र रोगसँग लड्ने क्षमता वृद्धि गर्ने बताइएको छ ।
हरेक महिनामा एक पटक पर्ने पुष्य नक्षत्रको दिनमा स्वर्णबिन्दु थोपा खुवाउने परम्पराअनुसार माघ १८ गते पुष्य नक्षत्र परेकाले आजदेखि कार्यक्रम सुरु गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका कार्यालय प्रमुख यादवप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार अब प्रत्येक महिना पुष्य नक्षत्र पर्ने दिनमा यो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
उमेरअनुसार बालबालिकालाई फरक–फरक मात्रामा थोपा खुवाइने गरिएको छ । एकदेखि दुई वर्ष उमेर समूहका बालबालिकालाई दुई थोपा र दुईदेखि पाँच वर्षसम्मका बालबालिकालाई चार थोपा खुवाइने कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो ।
बालबालिकाको स्वास्थ्यका लागि कार्यक्रम प्रभावकारी रहेकाले ग्रामीण भेगसम्म यसको पहुँच विस्तार गर्नुपर्ने स्थानीय प्रेम भुर्तेले बताउनुभयो । आयुर्वेद औषधिको प्रयोग हाल कम भए पनि दीर्घकालीन रूपमा यसको प्रभाव सकारात्मक हुने उहाँको भनाइ छ ।
स्वर्णबिन्दु थोपा प्राशन कार्यक्रम हाल देशका २५ जिल्लामा लागू भइसकेको आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले जनाएको छ ।








परिवर्तन संवाददाता
२० माघ २०८२, सोमबार १७:१३