Loading... आजः २०८२ माघ २४, शुक्रबार

दैलेखका ३ हजारबढि किशोरीलाई निःशुल्क एचपीभी खोप लगाइदै

दैलेख । दैलेखमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम सञ्चालन हुने भएको छ।

कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालयबाहिर रहेका १० वर्षका किशोरीलाई लक्षित जिल्लाका ११ वटै स्थानीय तहमा रहेका १ सय ९३ खोप केन्द्र र १ सय स्वास्थ्य संस्थामार्फत सञ्चालन गरिदैछ।

स्वास्थ्य सेवाकार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीका अनुसार कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत ३ हजार १८४ र विद्यालयबाहिरका २ सय ९८ किशोरीलाई खोप लगाइनेछ।

कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण माघ २५ देखि २८ गतेसम्म नौमुले, महाबु, भैरवी, नारायण, भगवतीमाई, डुर्गेश्वर र गुराँस गाउँपालिकामा सञ्चालन हुनेछ। दोस्रो चरण फागुन २८ देखि चैत २ गतेसम्म ठाँटीकाँध, आठबीस, चामुण्डा–बिन्द्रासैनी र दुल्लु नगरपालिकामा खोप दिइनेछ।

स्वास्थ्य कार्यालयका डा। मनोज विश्वकर्माका अनुसार पाठेघरको मुखको क्यान्सर महिलामा देखिने गम्भीर स्वास्थ्य समस्या हो। उनले विवाहित तथा ३० वर्षमाथिका महिलाले नियमित परीक्षण गर्नुपर्नेमा जोड दिँदै पहिलो यौन सम्पर्क अघि खोप लगाउनु सबैभन्दा प्रभावकारी उपाय भएको बताए।

जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले पाठेघरको मुखको क्यान्सर हरेक परिवारसँग प्रत्यक्ष रूपमा सम्बन्धित समस्या भएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए।